चितवन । भरतपुर–१ स्थित वागीश्वरीमा राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको छ। नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बिहीबार दीप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा महायज्ञ संयोजक प्रेमनिधि भारद्धाज, प्रमुख संरक्षक योगी श्रीषनाथ र संरक्षक योगी बलभद्रनाथ लगायतको उपस्थिति रहेको थियो।
उद्घाटनका क्रममा स्वामी ज्ञानानन्द सरस्वतीले साङ्ग–कोटिहोमलाई अत्यन्त महत्वपूर्ण र पवित्र यज्ञ भएको उल्लेख गर्दै यसको सफलताका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। सोही अवसरमा वागीश्वरीका केन्द्रीय सदस्य तथा युवा राजनीतिज्ञ कैलाश कोइरालाद्वारा लिखित कविता संग्रह ‘कल्की’ को विमोचन गरिएको थियो। उक्त कृतिमाथि उदयराज अधिकारीले समीक्षा प्रस्तुत गरेका थिए।
महायज्ञका लागि विभिन्न धार्मिक स्थलबाट ल्याइएको पवित्र अग्नि हवन मण्डपमा स्थापना गरिएको छ। दैलेखस्थित ज्वालादेवी मन्दिर, काठमाडौँको मृगस्थलीस्थित गोरखनाथ धुनी, दाङको रतननाथ मठ र गोरखाको गोरखनाथ गुफाबाट ल्याइएको अग्निसँगै अरणी मन्थनबाट निकालिएको अग्नि प्रयोग गरिएको हो।
५९ दिनसम्म सञ्चालन हुने महायज्ञको उद्घाटनअघि गण्डकी नारायणी महाआरती स्थलबाट वागीश्वरी मन्दिरसम्म भव्य कलशयात्रा निकालिएको थियो। कलशयात्रा अघि गंगा पूजन गरिएको थियो भने यात्रा वागीश्वरी मन्दिर र गौशालाको परिक्रमा गर्दै सम्पन्न भएको थियो। शुक्रबारदेखि, गोरखनाथ जयन्ती तथा बुद्ध जयन्तीको अवसर पारेर महायज्ञ विधिवत् रुपमा सञ्चालनमा आएको छ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भइरहेको हो। संयोजक प्रेमनिधि भारद्धाजका अनुसार योगी नरहरिनाथले २३ वर्षअघि गरेको संकल्पअनुसार यो महायज्ञ आयोजना गरिएको हो। उनले जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए र १३०औँ महायज्ञ गर्ने इच्छा पूरा हुन सकेको थिएन।
महायज्ञअन्तर्गत नौ वर्षमुनिका १००८ बालिकाको सामूहिक पूजन गरिनेछ। साथै नेपाली सेनाले पनि हवन सामग्री उपलब्ध गराएको जानकारी दिइएको छ। कार्यक्रमअन्तर्गत ब्राह्मणहरूद्वारा निरन्तर हवन, तर्पण, मार्जन, अतिरुद्री, सहस्रचण्डी, ब्रह्म गायत्री मन्त्रद्वारा लक्षहवन, श्रीशिवमहापुराण र श्रीमद्भागवत महापुराण पाठ लगायत विभिन्न धार्मिक अनुष्ठान गरिनेछन्। त्यस्तै, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा सम्बन्धी पाठ, गौ कथा प्रवचन तथा पाँच सरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।


