माडी । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा अबैधरुपमा रहेका चेपाङका घर तथा टहराहरु भत्काएको छ । निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु बुधबार दिउँसो कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घर तथा टहरा भत्काएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नियमितरुपमा घर, टहराहरु निकुञ्जले हटाइरहेको बताए । उनले भने, ‘कुसुमखोलामा एउटा घर बाहेक सबै गैरकानुनी रहेका छन् । अन्य स्थानबाट आएर १० जनाले घरटहरा बनाएका थिए । आउने घरटहरा हटाउने क्रम चलिरहेको छ ।
दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको कुसुमखोलाका स्थानीय काजीमान चेपाङले बताए । घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का स्थानीय दिललाल चेपाङले जानकारी दिए । अहिले कुसुमखोलामा ३० घरधुरी चेपाङहरुको बसोबास रहेको छ ।
करिब २ वर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा अहिले विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् । प्रमुख संरक्षण अधिकृत आचार्यले अन्यत्रबाट चेपाङहरु आएर टहरा बनाउने क्रम निरन्तर चलिरहेकोले हटाउने क्रम पनि चलिरहने जानकारी दिए । तस्विर सौजन्य – स्वदेश एफएम ।