मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

भारतको कीट विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत अवस्था भेटियो

वीरगन्ज,  २० वैशाख । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत भेटिएकी छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी १९ वर्षीया प्रिशा साह बिहीवार साँझ विश्वविद्यालयकै ‘क्यु सी ४’ छात्रवासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। उनी कीट विश्वविद्यालयमा बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ (CSE) को पहिलो वर्षमा अध्ययनरत थिइन्। उनको स्थायी घर सर्लाहीको मलंगवा हो।

मृतकका भाइ गौरव साहका अनुसार बिहीवार दिउँसो ३ बजे प्रिशाले घरमा फोन गरी मे १८ तारिखमा विदामा घर आउने जानकारी दिएकी थिइन्। तर, त्यसपछि राति ९ बजेतिर कलेज प्रशासनले परिवारलाई फोन गरेर उनको मृत्युबारे जानकारी दिएको गौरवले बताएका छन्।

भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासले पनि छात्रा प्रिशा साहको मृत्यु पुष्टि गरेको छ। दूतावासका अनुसार मृतकका आफन्त भारत पुगेर कलेजमा उपस्थित भएपछि मात्र शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइने छ।

कीट विश्वविद्यालयमा यसअघि पनि यस्तै दुःखद घटना भइसकेको थियो। गत फागुनमा बुटवलकी २० वर्षीया छात्रा प्रकृति लम्साल पनि सोही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। त्यो घटनापछि विश्वविद्यालय प्रशासनको लापरवाही भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरूले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै क्याम्पसबाट निष्कासन गरेका थिए।

त्यस घटनापछि वीरगन्ज नाका हुँदै पाँच सयभन्दा बढी विद्यार्थीहरू नेपाल फर्किएका थिए। चौतर्फी विरोध र आलोचना भएपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई पुनः क्याम्पस फर्कन आह्वान गरेको थियो। प्रकृति लम्सालको मृत्यु प्रकरणमा एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ भने ओडिसा राज्य सरकारले पनि उच्चस्तरीय समिति गठन गरी घटनाको छानबिन गरिरहेको छ।

घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् ।

साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

 

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।—00–

Share:

सम्बन्धित समाचारहरु