चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै योग्य व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष बन्न चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधिसहित क्यान्सर क्षेत्रमा कम्तीमा १५ वर्ष वा स्वास्थ्य क्षेत्रमा २० वर्ष अनुभव आवश्यक पर्नेछ ।
अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ । यसअघि नियुक्त डा. विजयराज न्यौपानेको कार्यकाल सकिएपछि पहिलोपटक खुला प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो ।


