अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं ,२७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति भएको खुलासा गरेका छन्। ट्रम्पका अनुसार, अमेरिकी समन्वयमा दुबै मुलुकले युद्धविराममा सहमति जनाएका हुन्।

ट्रम्पले पाकिस्तानको प्रतिष्ठित अखबार डनले उल्लेख गरेअनुसार आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘सामान्य समझदारी’ (कमनसेन्स) अपनाएको भन्दै बधाईसमेत दिएका छन्।

यसैबीच, आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री तथा पाकिस्तानी सेनापतिसँग संवाद गरेको सार्वजनिक भएको छ। त्यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने भारत–पाकिस्तानबीचको युद्धमा अमेरिकाको कुनै चासो नरहेको स्पष्ट पारेका थिए। उनले अमेरिकी च्यानल फक्स न्यूजसँगको अन्तर्वार्तामा उक्त भनाइ दिएका थिए।

भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा सीमामा तनाव बढ्दै गएपछि विश्व समुदायले चासो व्यक्त गरिरहेको अवस्थामा आएको यो सहमति महत्त्वपूर्ण मानिएको छ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी समेत दिएका छन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।

–0—

Share:

सम्बन्धित समाचारहरु