भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फर्किन निर्देशन

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका ६ देशका राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाएको छ।

सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ हाल राजदूतका रूपमा कार्यरत छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्किन सोमबार पत्र पठाइएको छ। यसअघि ओली नेतृत्वको सरकारले ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गत कात्तिकमै ११ देशका राजदूतलाई फिर्ता बोलाइसकेको थियो। बाँकी ६ जनालाई भने बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको हो।

यसअघि फिर्ता बोलाइएका राजदूतहरूले परराष्ट्र मन्त्रालयमा हाजिर भएर स्वदेश फर्किने प्रक्रिया अपनाउँदै आएका छन्।–00—

Share:

सम्बन्धित समाचारहरु