आज कोजाग्रत पूर्णिमा: १५ दिनको दुर्गा पक्ष समाप्त, लक्ष्मीको स्वागत गरेर मनाइँदै

काठमाडौं । धन, धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित रातभर जाग्राम बसेर मनाइने कोजाग्रत पूर्णिमा आज मनाइँदैछ । यससँगै १५ दिन लामो बडा दशैँ पर्वको औपचारिक समापन हुँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज आश्विन शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बस्ने चलन छ। यही दिन अखिल बलिपूर्ति अर्थात् सबै प्रकारका बलिपूर्तिहरू सम्पन्न गर्ने विधान पनि छ। अखिल बलिपूर्तिपछि विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने तथा आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ। परम्पराअनुसार आज साँझ जमरालाई नजिकको नदी, तलाउ वा पोखरीमा लगी सेलाउने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। धार्मिक विश्वासअनुसार आजको रात जाग्राम बसेका भक्तजनका घरमा पृथ्वी भ्रमणमा निस्किएकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने मान्यता छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, माता दुर्गाका तीन रूपमध्ये एक रूप महालक्ष्मी भएकाले आजको दिन दुर्गा पक्षलाई बिदा दिने विशेष अवसर हो। नवरात्र विजयादशमीमै सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासँगै समाप्त हुन्छ।

यस दिनलाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। परम्परागत रूपमा आज रात जुवा खेल्ने चलन पनि रहेको छ। साथै, महालक्ष्मीसँगै हात्तीमा आरूढ इन्द्रको पनि पूजा गर्ने विधान शास्त्रमा उल्लेख गरिएको छ।

यसैबीच, कार्तिक स्नान र तुलसी पूजा आराधना असोज २१ गते (मङ्गलबार)देखि सुरु हुने समितिले जनाएको छ। सोही दिनदेखि आकाशदीपदानको शुभारम्भ पनि गरिनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु