काठमाडौं, २४ असार । भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल–चीनको मुख्य व्यापारिक नाका मितेरी पुल बगाएको छ। मंगलबार बिहान करिब ३ बजेतिर आएको बाढीले पुलसहित टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका सयौँ गाडी पनि बगाएको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भन्सार जाँचपासको प्रक्रियामा रहेका विद्युतीय सवारीसाधन (इभी) बाढीले बगाएको छ। पुल बगेसँगै नेपाल–चीनबीचको सिधा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
“बाढीमा फसेकाहरूको उद्धार सम्पन्न भइसकेको छ,” प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिँदै भने, “ड्राइपोर्टमा रहेका सबै सवारीसाधन बगाइसकेको प्रारम्भिक जानकारी आएको छ, तर कति संख्यामा गाडी थिए भन्ने खुल्न बाँकी छ।”
बाढी उद्धारमा खटिएको ११ सदस्यीय प्रहरी टोलीसमेत नदीमा फसेको छ। उनीहरूको हेलिकोप्टरमार्फत उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको पौडेलले जानकारी दिए।
बाढीले स्याफ्रुबेसी जोड्ने सडक र रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा समेत क्षति पुर्याएको छ। आयोजनाका केही कर्मचारी पनि बाढीको चपेटामा परेका छन्, जसको उद्धार कार्य जारी छ।
यसैबीच, रसुवा, धादिङ र नुवाकोटका जिल्ला प्रशासन कार्यालयहरूले त्रिशूली नदीको माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको जनाउँदै नदी किनारमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


