निरज महतो (चरन )-
खैरहनी । खिचरा महोत्सवमा शुक्रबार र शनिबार जिल्ला स्तरीय सितोरियो कराँते प्र्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागीता रहनेछ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोले जानकारी दिए । आजदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाईसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ ।
भोली ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए । यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ ।
महोत्सवको आजदेखि सुरु भएको हो । महोत्सवको उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्नुभयो । महोत्सव माघ ४ गते सम्म चल्नेछ ।