काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी–खोला किनारका करिडोर सडकमा सवारी आवागमन रोक्न आग्रह गरेको छ ।
प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा आज (शनिबार) साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म करिडोर सडकमा सवारी रोक्न निर्देशन दिएको छ ।
हाल उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भइरहेको र राति अझ वर्षा बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । नदी–खोला किनारका सडक डुबानमा पर्ने र जोखिम बढ्ने भएकाले अत्यावश्यकबाहेक आवागमन नगर्न अनुरोध गरिएको छ ।
प्रतीकात्मक तस्विर


