काठमाडौंमा रातिदेखि लगातार वर्षा, अझै केही दिन जारी रहने सम्भावना

काठमाडौं । राजधानी काठमाडौंमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बूढानीलकण्ठलगायत केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंमा आज दिनभर आकाश बदली रहने र बीच–बीचमा वर्षा हुनेक्रम जारी रहनेछ । “केही घण्टापछि पानी रोकिए पनि फेरि वर्षा हुने सम्भावना छ,” उनले बताए । उनका अनुसार राति पनि काठमाडौंका अधिकांश स्थानमा वर्षा हुने देखिएको छ ।

नेपालमा हाल भइरहेको वर्षाको कारण बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावा रहेको विभागको भनाइ छ । विभागका अनुसार काठमाडौंमा भोलि पनि आजकै जस्तै मौसम रहनेछ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । ती प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, लुम्बिनी र कोसी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी विभागले दिएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ ।

Share:

सम्बन्धित समाचारहरु