फागुन २८ चितवन। आजदेखि झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। अभियान एक सातासम्म चल्ने छ।
यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने लक्ष्य छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने बताए।प्रदेश १ मा झापा र मोरङमा मात्र अभियान सुरु भएको छ। झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए।
यस्तै दाङमा पनि आजदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ।
हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि सेवन कार्यक्रम लागू गरिएको छ। दुई हप्तासम्म आम औषधि सेवन कार्यक्रम जारी रहने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए।
‘११औं चरणसम्म आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दा रोग निवारण भएन। फेरि १२ औं चरणको आम औषधि सेवन कार्यक्रम चलाउन थाल्यौं’, उनले भने, ‘औषधि सेवन गर्ने मानिसको संख्या घट्दै गएकाले निवारण गर्न समस्या भएको हो।’
गत वर्ष दाङ जिल्लामा ६४ प्रतिशतले मात्रै आम औषधि सेवन गरेको तथ्यांक छ। औषधि सेवन गर्ने दर गाउँभन्दा सहरमा थोरै छ। औषधिको बारेमा धेरै नकारात्मक प्रचार भएकाले पनि यो अभियानमा औषधि सेवन गर्नेको संख्या घट्न पुगेको हो। औषधि खुवाउने दर ८० प्रतिशत पुर्याउन स्वास्थ्य कार्यालयले सबै तयारी पूरा गरेको छ।
जिल्लामा दुई हजार ४४ जना हात्तीपाइले रोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘करिब दुई हप्तासम्म चल्छ यो अभियान’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भने, ‘यसपालि औषधि खाने मानिसको संख्या बढाउने योजना छ।’
हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ।