चितवन, १६ साउन । नेपाल आयल निगमले चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरेको छ। बाराको अमलेखगन्जदेखि लोथरसम्म पाइपलाइन विस्तार गर्ने परियोजनाअन्तर्गत आज लोथरमा फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पाइपलाइन विस्तार कार्यको औपचारिक सुरुवात गरिएको हो।

राप्ती नगरपालिका–१ स्थित लोथरको करिब २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ। नेपाल आयल निगमले जानकारी दिएअनुसार भारतको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाट लोथरसम्म पेट्रोलियम पदार्थ पम्पिङ गरिनेछ। ६२ किलोमिटर दूरीमा १०.७५ इञ्च व्यासको पाइपलाइन बिछ्याइनेछ।
परियोजना प्रमुख प्रदीपकुमार यादवले सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै अब कार्यान्वयन सुरु भएको जानकारी दिनुभयो। “भोलिबाट सडक निर्माण, समन्वय लगायतका कार्य थालिन्छ,” उहाँले भन्नुभयो, “तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं।”

पाइपलाइनबाट ढुवानी गर्दा वातावरणमा असर कम हुने, चोरी र मिसावट रोकथाम हुने भन्दै यादवले परियोजनाले स्थानीयलाई रोजगारीको अवसर समेत दिने उल्लेख गर्नुभयो। परियोजना कार्यान्वयनमा स्थानीयको पूर्ण साथ रहने प्रतिवद्धता निगमले जनाएको छ।
निगमका उपनिर्देशक रामहरि निरौलाले परियोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै ट्याङ्कर ढुवानी क्रमशः विस्थापित हुँदै जाने बताए। राप्ती–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले यसलाई चितवनकै गौरवको आयोजना उल्लेख गर्दै स्थानीयमा खुसी छाएको बताए।
पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन आपूर्ति गर्न सकिने सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो। पूर्व–पश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिने जनाइएको छ। जुनसुकै समयमा ३२०० किलोलिटर इन्धन भण्डारण रहनेछ। लोथरमा बन्ने टर्मिनलमा पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुईवटा, तथा हवाई इन्धनका लागि ३६०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्क निर्माण गरिनेछ।

पाइपलाइनसहित भण्डारण गृह निर्माणको अनुमानित लागत करिब १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। भारत भ्रमणका क्रममा २०८१ जेठमा भएको सम्झौता अनुसार अमलेखगन्ज–लोथर पाइपलाइन तथा डिपो निर्माणको सहमति भएको थियो।
गत असोज १७ गते इण्डियन आयल कर्पोरेशन (आईओसी) र नेपाल आयल निगमबीच बिटीयूबी सम्झौता भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको छ। सम्झौताअनुसार ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याइनेछ। यसअघि मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ किलोमिटर अन्तरदेशीय पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो। प्रारम्भमा डिजेल र मट्टितेल आयात भएपनि हाल पेट्रोल पनि पाइपलाइनमार्फत ल्याउन थालिएको छ।
परियोजना सम्पन्न भएपछि देशको पश्चिमी र उत्तरी क्षेत्रमा इन्धन आपूर्ति थप सहज हुने विश्वास लिइएको छ। उल्लेखनीय छ, विसं २०२७ मा नेपाल आयल निगमको स्थापना गरिएको थियो। –00–


