एकै दिन १५ हजार दर्शकले अवलोकन गरे गैँडाकोट महोत्सव

गैँडाकोट, २९ पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव मंगलबार एकै दिन १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार मंगलबार साँझ महोत्सवस्थलमा दर्शकको अत्यधिक भीड देखिएको थियो । पुस २५ गतेदेखि शुरू भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको आकर्षण बढ्दै गएको उनले बताए ।

जिल्लाकै चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहेकाले पनि मंगलबार दर्शकको संख्या उल्लेख्य रूपमा बढेको सापकोटाको भनाइ छ । ओपेरा हाउस, जलपरी तथा मुस्ताङबाट ल्याइएको चौरी (याक) पनि महोत्सवका प्रमुख आकर्षण बनेका छन् ।

महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालका अनुसार मंगलबार अर्जुन सापकोटासहित सपना रोक्का, भरत क्षेत्री तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका छन् । साथै भजन प्रतियोगिता पनि जारी रहेको छ । स्थानीय कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भजन प्रतियोगिता आयोजना गरिएको लम्सालले बताए ।

बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेसहित वृन्दा परियार, शंकर क्षेत्री, निलम ढुंगाना र दिपेन थापाको प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन दीपक खड्काले गर्नेछन् ।

स्थानीय कृषि तथा उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सव अवलोकनका लागि साधारण दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट तोकिएको छ । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्ग व्यक्ति र शैक्षिक संस्थाबाट समूहमा सहभागी विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

Share:

सम्बन्धित समाचारहरु