सापटी तिर्न अपहरणको नाटकगर्ने चितवनका दिलिप विक सहित, ६ जना पक्राउ

काठमाडौं,२५ माघ । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् ।

उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।  चन्द्रागिरि नगरपालिका(१३ का विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपैयाँ सापटी दिएका थिए । तर उनीहरुले पैसा तिर्न सकेका थिएनन् ।

मंगलबार विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आआफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन भनेका थिए । तर उनीहरुका पत्नीहरु पतिको अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।

एसपी राठौरका अनुसार प्रहरीले खोजी गर्दा उनीहरु पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसिरहेको फेला परेका थिए । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले जानकारी दिए ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु