चितवनमा अर्को गैँडा मृत भेटियो

 चितवन, १० भदौ। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ।

मंगलबार बिहान मध्यवर्ती क्षेत्रअन्तर्गत बाण खोलाको किनारमा पोथी गैँडा मृत भेटिएको हो। यसबारेमा निकुञ्जले आधिकारिक जानकारी भने दिएको छैन।

यसअघि ९ भदौमा नेपाली सेनाको लामीचौर पोस्टबाट करिब डेढ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्ने ढाका गुन्द्रही मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैँडा दलदलमा फसेको अवस्थामा भेटिएको थियो। सेनासहित निकुञ्जका कर्मचारीले तत्काल उद्धार गरी छाडेका थिए। उद्धार गरिएको स्थानबाट करिब पाँच सय मिटर पश्चिमतर्फ उक्त गैँडा मंगलबार मृत भेटिएको हो।

चालु आर्थिक वर्षमा यो दोस्रो गैँडाको मृत्यु हो। यसअघि साउन २१ गते माडी नगरपालिका–२ भैरवपुरमा धान जोगाउन किसानले थापेको विद्युतीय धरापमा परेर अर्को गैँडाको ज्यान गएको थियो।

गत आर्थिक वर्षमा मात्र विभिन्न कारणले २८ गैँडाको मृत्यु भएको निकुञ्जले जनाएको छ। सरकारले चालु आर्थिक वर्षभित्रै गैँडाको यकिन संख्या पत्ता लगाउन गणना गर्ने तयारी गरेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु