लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएको स्पष्ट अडान दोहोर्‍याएको छ।

पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धि–सम्झौताका आधारमा ती भूभाग नेपालको हिस्सा हुने उल्लेख गरिएको छ। साथै यस विषयमा रास्वपा निरन्तर आवाज उठाउँदै जाने स्पष्ट गरेको छ।

रास्वपाले भारत–चीनबीच लिपुलेक हुँदै हुने व्यापारिक मार्गका बारेमा पनि गम्भीर ध्यानाकर्षण गराउँदै नेपालको अनुमति विना कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको भूभागमा अन्य देशको कुनै पनि गतिविधि नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात हो।”

पार्टीले यस विषयलाई संसदमा उच्च प्राथमिकतामा उठाउने प्रतिबद्धता जनाउँदै सरकारले देखाएको अनिच्छाप्रति प्रश्न उठाएको छ। रास्वपाले प्रधानमन्त्रीको हालैको भारत र चीन भ्रमणका क्रममा समेत लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय प्रस्ट रूपमा उठाउनुपर्ने भन्दै सरकारको कमजोरीलाई इंगित गरेको छ।

रास्वपाले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनतामाथि आघात पुर्‍याउने गतिविधिबाट नेपाललाई जोगाउन सबै राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई एकजुट भएर आवाज उठाउन आह्वान गरेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु