चितवन, २९ साउन । नेपाली कला, साहित्य, रंगमञ्च र सांस्कृतिक संरक्षणमा सक्रिय संस्था नारायणी कला मन्दिर, नारायणगढले यस वर्ष पनि परम्परागत रोपाइँ जात्रा–२०८२ भव्य रूपमा मनाउने तयारी गरेको छ। श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर श्रावण ३१ गते शनिबारको दिन यो जात्रा आयोजना गर्न लागिएको मन्दिरले जानकारी दिएको छ।

कृषि पेशामा आधारित नेपाली जनजीवनको जीवन्त चित्रण प्रस्तुत गर्ने यो जात्रा सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने अवसरका रूपमा मनाइन्छ। “कर्म गर, फलको आशा नगर” भन्ने भगवान् श्रीकृष्णको सन्देश फैलाउने उद्देश्यसहित यो पर्वले सुख, शान्ति, प्रेम र सद्भावको सन्देश छर्ने मन्दिरको भनाइ छ।
जात्रामा बिच सडकदेखि बजारसम्म अघि–अगाडि गोरू, हली र बाउसे, अनि पछि–पछि रोपाहारले धान रोपाइँ गरेझैँ दृश्य प्रस्तुत गरिनेछ। यस क्रममा पञ्चेबाजाको धुन, असारे गीत र पुरुषले महिलाको पहिरन लगाएर रोपाइँ गर्ने दृश्य मुख्य आकर्षण हुने बताइएको छ।
गत वर्षझैँ यस पटक पनि राधा–कृष्णको झाँकी सहितको सुन्दर रथ, भजन–कीर्तन र बजार परिक्रमा कार्यक्रम रहनेछ। मन्दिरका अनुसार यो जात्राले लोप हुन लागेको मौलिक परम्परा र संस्कृतिलाई जीवित राख्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
नारायणी कला मन्दिरले विगतदेखि नै विभिन्न संघ–संस्था र व्यक्तिहरूको आर्थिक तथा भौतिक सहयोगबाट रोपाइँ जात्रा सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि यस्तै सहयोगबाट कार्यक्रम सम्पन्न हुने मन्दिरले जनाएको छ। साथै, सबै सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको छ। –00–


