रमेश सिलवाल । सेतोनेपाल-
चितवन,२७ साउन । भरतपुर–१८ गुञ्जननगरस्थित रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिले विश्व स्वास्थ्य संगठन (WHO) को कुशल उत्पादन अभ्यास (GMP) गाइडलाइन अनुसारको प्रमाणपत्र प्राप्त गरेको छ।
औषधि व्यवस्था विभागको साउन २२ गतेको निर्णयअनुसार उद्योगलाई WHO GMP तथा नेपालको औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र प्रदान गरिएको हो। यसअन्तर्गत WHO GMP प्रमाणपत्र दुई वर्षका लागि र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र तीन वर्षका लागि मान्य रहनेछ।
कम्पनीले ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, क्रिम, जेल र पाउडर उत्पादनका लागि यो प्रमाणपत्र पाएको हो।
प्रमाणपत्र प्राप्त भएपछि कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेलले यसलाई उद्योगको महत्वपूर्ण उपलब्धि भन्दै नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय उत्पादनमा जोड दिने योजना रहेको बताए।
उद्योगका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुणराज थापा (रञ्जन)ले अन्तर्राष्ट्रियस्तरका नयाँ औषधि उत्पादन गर्दै बजारमा अझ सशक्त रूपमा अघि बढ्ने उल्लेख गरे। उनले यो सफलता सम्पूर्ण कर्मचारीको मेहनत र औषधि व्यवस्था विभागसहित सहयोगी निकायको साथका कारण सम्भव भएको बताए।
रोयल सासाले २०७८ असार १३ गतेदेखि औषधि उत्पादन सुरु गरेको हो। हाल उद्योगबाट ५० भन्दा बढी प्रकारका औषधि बजारमा बिक्री वितरण भइरहेको छ।–00–

