प्रधानमन्त्री ओली आज चितवन आउँदै, ६ लेनको सडकसहित विभिन्न विकास आयोजनाको उद्घाटन गर्ने

चितवन,  ५ वैशाख  । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन भ्रमणमा आउँदैछन्। भरतपुरको पुलचोकदेखि गोन्द्राङ सम्मको निर्माण सम्पन्न भएको ६ लेनको सडक उद्घाटन गर्ने कार्यक्रमसहित विभिन्न विकास आयोजनामा सहभागी हुन प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उपस्थित रहनेछन्।

तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यस सडकको शिलान्यास गरेका थिए। करिब एक अर्ब ७६ करोड रुपैयाँको लागतमा निर्माण भएको सो ६ लेन सडक दुबै तर्फ सडक बत्ती जडानसहित सम्पन्न गरिएको छ।

५० मिटर चौडाइ भएको यो सडकको दायाँबायाँ ११.५र ११.५ मिटर कालोपत्र गरिएको छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसबाहिर ५ देखि ६ मिटर चौडाइको सर्भिस लेन निर्माण गरिएको छ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे इच्छाकामना गाउँपालिकाको नव निर्माण भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो १२:३० बजे नारायणगढमा ६ लेनको सडक उद्घाटन गर्ने र त्यसपछिको कार्यक्रमअन्तर्गत वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा हुने नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशनमा सहभागी हुने एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिए।–00–

Share:

सम्बन्धित समाचारहरु