"समृद्धि सरकारी योजनाले मात्र होइन, नागरिकको चेतनाले पनि सम्भव हुन्छ।"

फूलबारी आमा समूह : माडी–८ को बगैंचाबाट समाज परिवर्तनको लक्ष्य

– रेशम सापकोटा – सेतो नेपाल
चितवन (माडी) २६ असार ।  चितवन, माडी नगरपालिका–८ को अयोध्या मार्गमा एक सानो बस्ती — तर ठूलो सोचको गाथा बोकेको ठाउँ हो फूलबारी आमा समूह। बाहुन, क्षेत्री, मगर, चेपाङलगायत जातीय विविधताले समेटिएको यो बस्तीले हाल समाजमा एउटा स्पष्ट सन्देश दिएको छ — “समृद्धि सरकारी योजनाले मात्र होइन, नागरिकको चेतनाले पनि सम्भव हुन्छ।”

यहाँका २५ घरपरिवारको टोल अहिले चितवनकै नमुना बस्तीका रूपमा चिनिँदैछ। टोलमा रहेका २ घर चेपाङ समुदायका हुन्। सामान्यतया चेपाङ समुदायप्रति समाजमा सफाइ र शुद्धतासम्बन्धी नकारात्मक धारणाहरू रहेको पाइन्छ। तर यही टोलका चेपाङ घरहरू अहिले फूलबारी, सजावट र अनुशासनमा अग्रपंक्तिमा छन्। हेर्दा लाग्छ, यहाँका घर आँगन, बाटो र व्यवहारले समाजका पुराना सोचहरूलाई नै चुनौती दिएका छन्।

प्रत्येक घरको आँगन फूलबारीले भरिएको, स्वागतका घडाहरू सजिएको, र दैनिक जल फेर्ने परम्परा कायमै रहेको यो बस्ती साँच्चै मनमोहक देखिन्छ। बाटो छेउछाउमा रङ्गीन ढुङ्गाहरू, वातावरणमैत्री डोका, सचेतनामूलक सन्देशयुक्त ढुङ्गाका बोर्डहरू, र राष्ट्रिय झण्डाले सजिएको मार्ग यस बस्तीलाई अझ विशेष बनाउँछ। वृक्षरोपण गरेर बाटो दुबै किनार हरियाली बनाइएको छ, जसले गर्दा यो बस्ती हेर्दा नै “स्वर्ग यही हो कि!” भन्ने अनुभूति हुन्छ।

 

घरको चुलोचौको, खेतिपाती, जागिर र व्यवसायबीच समय निकाल्दै यहाँका महिलाहरू र पुरुषहरू सामाजिक काममा जुटेका छन्। महिलाको अगुवाइमा भएको प्रत्येक प्रयासमा घरका पुरुषहरूको साथ छ, जुन लैंगिक समता र पारिवारिक सहकार्यको उत्कृष्ट उदाहरण हो। सामूहिक खेती, दैनिक सरसफाइ, आर्थिक पारदर्शिताका लागि सूचना बोर्डमा दाताको नाम सार्वजनिक गर्ने अभ्यासले पनि यो समूहलाई झन व्यवस्थित र उदाहरणीय बनाएको छ। टोलभित्रको अनुशासन यति गहिरो छ कि यहाँ राति वा दिउँसो कसैले पनि मदिरा सेवन गरेर होहल्ला गर्दैन।

राज्यको सम्पत्ति जोगाउने काममा पनि समुदाय सचेत देखिन्छ। सार्वजनिक चउर, बाटो, ढुङ्गा, रूख सबैको संरक्षणमा सामूहिक सहभागिता छ। यस्ता कामले समाजमा सकारात्मक तरंग र अनुशासनको संस्कार सिर्जना गरेको छ।

यही भावना प्रकट गर्दै माडी–८ का वडाध्यक्ष बिरेन्द्र बहादुर भण्डारी भन्नुहुन्छ “वडा नम्बर ८ मा रहेको फुलवारी आमा समूहले जुन खालका कामहरू गर्नुभयो छ, ती साँच्चिकै गर्व गर्न लायक छन्। यहाँको योगदानले स्थानीय सरकारको शिर पनि उच्च बनाएको छ। हामी सबैको हातेमालोबाट अझ धेरै राम्रो गर्न सक्छौं।”

ऐतिहासिक धार्मिक पुरातात्विक हिसाबले महत्व रहेको बैकुण्ठधामका अध्यक्ष राजकुमार परियार पनि यिनै कार्यबाट प्रभावित हुनुहुन्छ । उहाँले भन्नुभयो “फूलबारी समूहको कामले अन्य टोलहरूमा पनि सकारात्मक प्रभाव पर्न थालेको छ। हामी योजना बनाएर वडा नम्बर ८ का अरू ठाउँमा पनि यस्ता अभियान विस्तार गर्ने तयारीमा छौं। बैकुण्ठधामको विकासमा पनि उहाँहरूको ठूलो हात छ। हामी उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।”

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न पुगेका भरतपुर १० स्थित पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देल पनि यो टोलको कार्यप्रति प्रभावित छन्। दुईचोटि अवलोकन र सहयोग गर्न पुगेका सिग्देल भन्नुहुन्छ “यहाँहरूका काम निकै सकारात्मक छन्। फेरि पनि केही न केही सहयोग गरौं भन्ने भावना मनमा आइरहेको छ। हामी यसलाई योजनाबद्ध रूपमा अघि बढाउने सोच बनाउँदैछौं।”

सुलभ सिग्देल संचालक रहेको पपुलर युनिसेक्स सैलुनले भरतपुर क्षेत्रमा सामाजिक कार्य, सौन्दर्य र समर्पणमा विशेष स्थान बनाउँदै आएको छ। टोलको उदाहरण हेर्दा लाग्छ — सजिएको टोलले केवल बाटो मात्र होइन, सोच पनि बदल्छ सिग्देलले भन्नुभयो ।  चितवनको माडी–८ मा एउटा यस्तो बस्ती छ — जहाँ फूल मात्र होइन, संस्कार फुल्छ। जहाँ काम मात्र होइन, चेतना बग्छ। अनि जहाँ समाजको रूपान्तरण आफ्नै बगैंचाबाट सुरु हुन्छ।

Share:

सम्बन्धित समाचारहरु