काठमाडौं, १९ असार ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक रहेको छ।
महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। देशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति पनि अधिकांश प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

