त्रिवेणी ,२९ जेठ । नवलपरासी पूर्वको विनयी त्रिवेणी नगरपालिका–२ दुम्किवासस्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान आएको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। उनका अनुसार हाल साना सवारी साधन तथा यात्रुवाहक गाडीहरूलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै वैकल्पिक बाटोबाट आवतजावत गराइएको छ।
गत पुसमा भारततर्फबाट आएका अत्यधिक भार भएका ओभरलोड गाडी गुड्दा विनयी खोलामा रहेको पुरानो पुल भत्किएको थियो। त्यसपछि जोखिम कम गर्न अस्थायी डाइभर्सन बनाइएको थियो। त्यही डाइभर्सन आजको बाढीले बगाएको हो।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो स्थानमा निर्माण भइरहेको नयाँ पुल आगामी दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।


