काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली गएका हुन् ।दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
मोदीले आइतबार ९आज० बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार ९भोलि० बेलुका ६ बजे स्वदेश फर्कने तय छ ।—00–


