काठमाडौँ, १७ जेठ । देशका पश्चिम तथा मध्य भू–भागमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायु सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेतको सम्भावना रहेको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
आज रातिको मौसम पनि लगभग उस्तै रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।
कोशी र मधेश प्रदेशका केही स्थानहरू तथा बाँकी पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेकोले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
विभागले उच्च–पहाडी तथा हिमाली भू–भागमा वर्षा वा हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।–00–


