सिमोन चौधरी । सेतोनेपाल-
कालिका, २३ साउन । कालिका वडा न. २ की धनमाया तामाङको दिन हिजोआज खेतवारीमा वित्छ । उहाँको बारीमा अहिले घिरौला, बोडीसँगै काक्रो फल्न थालेको छ । उहाँले सात कठ्ठा जग्गा भाडामा लिएर तरकारीखेती लगाउनुभएको हो ।
छिमेकीको देखासिकीवाट तरकारीखेती गर्न हौसिएका धनमायालाई स्थानीय चेतनाचेली बहुउद्देश्य सहकारीले साथ दियो ।
तरकारीखेती सम्बन्धी सातदिने आवश्यक तालिम सहकारीले दियो । तालिमसँगै आवश्यकपर्ने तरकारीको बीउँ, मल, पानी हाल्ने हजारी लगायतका सामग्री समेत निशुल्क दियो । गतवर्ष धनमायाले तरकारी विक्रीवाट ७ लाख रुपैयाँ आम्दानीगर्न सफल भएको धनमायाले बताउनुभयो । गतवर्ष तरकारीको राम्रो मूल्य पाउनुभएको धनमायाले यो वर्ष तरकारीखेती विस्तारगर्ने योजनामा हुनुहुन्छ । दुई कठ्ठा जग्गामा परीक्षणस्वरुप घीउसिमीवाट व्यवसायिक तरकारीखेती थाल्नुभएको धनमाया अहिले गाउँमै तरकारीखेतीगर्ने किसानको रुपमा परिचित हुनुभएको छ । उहाँले चेतना चेली सहकारीवाट ८० हजार रुपैयाँ ऋण लिएर तरकारीखेती सुरु गर्नुभएको हो ।
उत्पादन भएको तरकारी विक्रीका लागि बजार समेत लानुपर्दैन । उहाँको तरकारी किन्न साना ठूला व्यापारीहरु बारीमै पुग्ने गरेका छन् । उहाँको बुझाईमा अरु खेतीबालीभन्दा तरकारी बाली आफुले गरेको परिश्रम अनुसार राम्रो आम्दानी हुने पेशा हो । सहकारीले तरकारीखेती लगाउँदा आवश्यक मल देखि औषधी किन्न समेत आर्थिक सहुलियत दिनथालेपछि आफुहरुलाई थप हौसला मिलेको उहाँ बताउनुहुन्छ । तरकारीखेतीमा राम्रो आम्दानीहुन थालेपछि अहिले श्रीमान समेत यसैमा रमाउन थाल्नुभएको छ – धनमाया तामाङले भन्नुभयो ।

तरकारीखेतीले धनमाया तामाङलाई घरपरिवार चलाउन सजिलो भएको छ । हिजोआज भरे के खाने भन्ने समस्या छैन । खान लाउन, घर परिवार चलाउन सहज भएको छ । सहकारीवाट सहुलियतमा लिएको ऋणपनि मासिक रुपमा सहजै किस्ता बुझाउन सक्ने हुनुभएको छ । सानातिना समस्या पर्दा कसैको घरमा दुईचार पैसा माग्न जान परेको छैन –उहाँले थप्नुभयो । परिवारको नाउँमा तीन कठ्ठा मात्रै जग्गा छ । प्रति कठ्ठा बार्षिक ३ हजार रुपैयाँ भाडातिरेर तरकारीखेती गर्दै आउनुभएको धनमायाले थप भाडामा जग्गा लिएर खेति विस्तारगर्ने योजना रहेको सुनाउनुभयो । त्यसका लागि जग्गा खोजिरहेका छौं उहाँले भन्नुभयो ।



धनमाया तामाङ जस्तै कालिका नगरपालिका वडा नं २ जीतपुर टोलकी आइतीमाया तामाङलाई पनि तरकारी स्हारर्न भ्याई नभ्याई छ । पाँचवर्षदेखि निरन्तर तरकारीखेती गर्दै आउनुभएको आइतीमायाको बारीमा अहिले बोडीले फुल खेल्दैछ । आठ कठ्ठा जग्गामा तरकारीखेती गर्दै आउनुभएकी आइतीमायालाई पनि चेतना चेली बहुद्देश्य सहकारीले सहज बनाइदिएको हो ।
सहकारीले तालिम दिएर दक्ष बनाइदियो । तालिमसँगै प्राप्त बीउँ, मल हजारीले सिजन अनुसारको तरकारीखेती गर्न सजिलो भएको छ । तरकारीखेतीमा लाग्ने रोगले बेला बेला चिन्ता थपिन्छ । रोगको पहिचान गरेर त्यसलाई रोकथामगर्न सके विदेशको कमाई नेपालमै रहेको उहाँ बताउनुहुन्छ । आइतीमायाको श्रीमान गाडी चलाउनहुन्छ । कामबाट फुर्सद मिल्नासाथ उहाँको श्रीमानपनि बारीमा काम सघाउन पुग्नुहुन्छ । दुवैजना मिलेर कामगर्ने गरेका छौं आइतीमायाले भन्नुभयो ।




यिनीहरु जस्तै कालिका नगरपालिकाका विभिन्न वडाका १८ जनां दिदि बहिनीहरु व्यवसायिक तरकारीखेतीमा रमाइरहेका छन् । चेतना चेली बहुउेद्दश्य सहकारीले आफ्ना शेयर सदस्य रहेको विभिन्न समुहका २६ जना महिलाहरुलाई सातदिने तालिम दिएको थियो । तालिम लिएकाहरु मध्ये १८ जना दिदिबहिनीहरु व्यवसायिक तरकारीखेती गरिरहेका छन भने अन्यले आफ्नो खेतवारीलाई सदुपयोग गरिरहेका छन् । आफ्नो घरपरिवारका लागि आवश्यक तरकारी आफ्नै बारीमा उत्पादनगर्न सक्ने भएका छन् ।
चेतना चेली बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष विष्णु लामाका अनुसार तालिमसँगै सहभागीहरुलाई तरकारीखेतीका लागि आवश्यक बीउँ, मलसँगै आवश्यक उपकरण, सामग्री समेत निशुल्क वितरण गरिएको छ । संस्थामा आवद्ध महिलाहरुलाई व्यवसायिक बन्न प्रोत्साहनका लागि सहकारीले बाली सुरक्षण कार्यक्रम अन्तर्गत बाली वीमा कार्यक्रम समेत संचालनगर्दै आएको छ ।

२०७२ सालमा आधिकारीक दर्ता भएर सञ्चालनमा आएको चेतना चेली बहुउद्देश्यीय सहकारीले संस्थामा आवद्ध भएका दिदिबहिनीहरुलाई व्यवसायिक बनाउन तरकारीखेती, पशुपालन, गलैचा उद्योग, च्याउँ खेती, माछा पालन लगायतका क्षेत्रमा लगानी गरेको छ । जनजातिहरुको बाहुल्यता रहेको सहकारीमा जनजाति समुदाकै आर्थिकस्तर उकास्ने उद्देश्यले विभिन्न आयमूलक कार्यक्रम सञ्चालनगर्दै आएको सहकारी संस्थाको व्यवस्थापक निरु तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाली वीमा कार्यक्रम अन्तर्गत ५५ जना सदस्यहरुले करिब ११ विगहा ६ कट्ठा जमिनमा तरकारीखेती लगाउनेहरुले बाली वीमा समेत गरेका छन् । जसमध्ये २ जनाले क्षतिपूर्ती समेत पाए । वीमाका लागि कोष नै बनाएका छन् । बाली वीमा कोषमा अहिले १ लाख ८० हजार रुपैयाँ आर्थिक बचत समेत जम्मा भएको छ ।

((०)))


