चितवन, १ माघ । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवम् राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले माडीका सुकुमबासीमाथी राज्यले विभेद जारी राखेको आरोप लगाउनुभएको छ । विभेद गरेकै कारण अहिले सम्म सुकुम्वासीहरुले लालपूर्जा पाउन नसकेको उहाँको भनाई छ ।
खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा माडीले आयोजना गरेको खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले माडीका जनताहरु सिधा भए पनि अबुझ नरहेको भन्दै चुनाव अगाडि बाडिएको निस्सा खोई ?भनेर प्रश्न गर्नुभयो – ‘चुनावअघि बाँडिएको निस्साबाट बाँदरझुला र माडीका सुकुमबासीहरुले लालपूर्जा कहिले पाउँछन् ? ’ पञ्चायतकालमा किसानहरुले लिएको ऋण मिनाहा हुने गरे पनि अहिले त्यसो हुने नगरेको तर मन्त्रीहरु करोडौं खर्चिएर विदेश घुम्न जानेगरेको’ बताउँदै सांसद पाण्डेले ‘बुर्जुवा शिक्षा भन्दै पढ्न नदिएर राजा फाल्न लगाई युवाहरुलाई राजा भएको देशमा बेल्चा चलाउन पठाइएको’ कटाक्ष गर्नुभयो ।
‘हाल देश टाट पल्टिएको, कर्मचारीको तलब खुवाउन नसकेको, नीतिगत भ्रष्टाचारले जर्जर भएको, विदेश जान खोज्दा दिनदहाडै खोली हानी मारिएको तथा अदालतले ज्यानमारा मानेकोलाई छोड्ने र निर्दोषलाई थुन्ने गरेको’ भन्दै पाण्डेले सरकारप्रति रोष प्रकट गर्नुभयो ।
आफू धर्तीमा रहुन्जेल माडीका लागि देखेको सपना पूरा गरी छाड्ने पाण्डेको दाबी छ । माडीबासीले आफूलाई नेताका रुपमा नभई घरपरिवार सदस्यका रुपमा लिनेगरेको उहाँले बताउनुभयो । ‘माडीमा बाँदरमुढे जस्तो घटना फेरि कहिल्यै हुनु नपरोस्’ भन्दै उनले ‘२०७४ देखि ८० सम्म माडीमा के भयो’ भनि प्रश्नसमेत गर्नुभयो ।–00–

