चितवन, १५ साउन । थारू भाषा, कला–संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले थारू कलाकार सभा चितवनले ‘घोङ्ही–चिचर सांस्कृतिक साँझ–२०८३’ आयोजना गर्ने भएको छ ।
कार्यक्रम आगामी साउन २३ गते सौराहास्थित सिसुवार चौरको विशाल सभाहलमा दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । थारू कलाकार सभाका अध्यक्ष हिरा चौधरीका अनुसार पछिल्ला वर्षहरूमा थारू समुदायका मौलिक भाषा, गीत–संगीत, कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गर्न लागिएको हो ।
उनले साँस्कृतिक साँझले मौलिक पहिचान जोगाउन तथा युवा पुस्तालाई आफ्नै भाषा र सँस्कृतिसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा चितवनसहित विभिन्न जिल्लाका थारू कलाकारहरूले मौलिक तथा आधुनिक सांगीतिक प्रस्तुति, नृत्य र अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुति रहनेछ । साथै, थारू समुदायले आफ्ना मौलिक भाषा र गीत बिर्सँदै गएको विषयवस्तुलाई समेटेर सन्देशमूलक नाटकसमेत मञ्चन गरिने आयोजकले जनाएको छ । साँस्कृतिक साँझलाई व्यवस्थित रूपमा सम्पन्न गर्न थारू कलाकार सभाका अध्यक्ष हिरा चाैधरीकाे संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
जसमा आर्थिक व्यवस्थापनको संयोजकमा सुखीराम चौधरी, साँस्कृतिक संयोजकमा रबिन चौधरी, नाटक संयोजकमा सुरेश चौधरी, मौलिक गीत–बास संयोजकमा बिका महतो, प्रचारप्रसार संयोजकमा निवेश चौधरी, जोर्ती–पेहनी संयोजकमा मनोज चौधरी तथा आधुनिक प्रस्तुति संयोजकमा रविन चौधरी रहेका छन् । अन्य विषयगत समिति र उपसमितिहरूले समेत कार्यक्रम तयारीलाई तीव्र बनाएका छन् ।
कार्यक्रमस्थलमा घोङ्ही, चिचर लगायत थारू समुदायका मौलिक परिकारहरूको प्रदर्शनी तथा बिक्री स्टल पनि रहनेछ । कार्यक्रममा प्रवेशका लागि रु. १०० शुल्क निर्धारण गरिएको छ भने टिकट बिक्री वितरण भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार ‘घोङ्ही–चिचर साँस्कृतिक साँझ–२०८३’ केवल मनोरञ्जनात्मक कार्यक्रम नभई थारू समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा आयोजना गर्न लागिएको हो ।


