कालिका, २२ असोज । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य वीमा गर्न सुरु गरेको छ । नगरकै गौरवको योजना अन्तर्गत नगर भित्रका ७ सय ९४ परिवारको निशुल्क स्वास्थ्य बीमागर्नेगरी काम सुरु गरेको हो ।
आइतबार वडा नं ६ को कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख विनोद रेग्मीले नगरप्रमुख विपन्न स्वास्थ्य वीमा कार्यक्रमको उद्घाटन गरेका छन् । आर्थिक अभाव झेलिरहेका परिवारलाई उपचारमा स्वास्थ्य लाभ पाउन सकुन भनेर नगरभित्रका अति विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बीमागर्न थालिएको हो । वीमा सेवा प्राप्तगर्नका लागि निश्चित समय भित्र सम्बन्धित वडा कार्यालय मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । यो सेवा लिनका लागि सम्बन्धित परिवार आफैले विपन्न रहेको स्वघोषणा गरे अनुसार प्राप्त आवेदनलाई छानविन गरी ९ सय ९४ परिवारको स्वास्थ्य वीमा गर्न लागेको हो ।
वडा नं. ६ वाट वीमागर्ने अभियान हिजोदेखि सुरु गरिएको छ ।
वडा नं १ का ११४, वडा नं २ का ४, वडा नं ३ का १२७, वडा नं ४ का ७३, वडा नं ५ का १०९, वडा नं ६ का १३४, वडा नं ७ का ९८, वडा नं ८ का ८२, वडा नं ९ का ३१, वडा नं १० का १८ र वडा नं ११ का ४ गरी ७९४ घरधुरीको स्वास्थ्य वीमा गरिने नगर प्रमुख रेग्मीले जानकारी दिए ।
स्वास्थ्य वीमागर्दा ५ जना भन्दा कम सदस्य भएको परिवारलाई ३५ सय र त्यसभन्दा माथी रहेका परिवारको वीमा गर्दा प्रति व्यक्ति ७ सय रुपैयाँ थपहुनेगरी शुल्क लाग्ने गरेको छ । नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत वीमागर्ने परिवारलाई लाग्ने सो बराबरको शुल्क नगरपालिकाले व्यवस्थापन गर्नेगरी यो कार्यक्रम सुरु गरिएको हो । वीमा कार्यक्रम प्रत्येक वर्ष नविकरणगर्नुपर्ने हुन्छ । आगामी वर्षहरुमा पनि नगरपालिकालेनै नविकरणगर्नेगरी यो कार्यक्रम ल्याइएको हो ।
निःशुल्क स्वास्थ्य बिमाबाट विपन्न परिवारका तीन हजार १७७ जना लाभाम्वित हुनेछन् । सो नगरपालिकाले स्वास्थ्य वीमाको लागि प्रतिपरिवार परिवारसंख्याको आधारमा ३ हजार ५०० देखि सात हजार सम्म लगानी गरेको छ । ७ सय ९४ घरधुरीको स्वास्थ्यवीमामाको लागि नगरपालिकाको २८ लाख ४३ हजार ३०० रुपैयाँँ लगानी गरेको छ । विपन्न नगरबासीको स्वास्थ्य वीमाको लागि सो नगरपालिकाले नगर सभा मार्फत ३० लाख रुपैया विनियोजन गरेको थियो । चेपाङ समुदायका परिवारको प्रदेश सरकारले स्वास्थ्य वीमा गर्ने घोषणा गरिसकेकाले सो नगरपालिकाले नगरभित्र रहेका सो समुदायका घरधुरीको भने स्वास्थ्य वीमा गरेको छैन् ।
स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनको लागि नगरप्रमुख विपन्न स्वास्थ्य बिमा कार्यविधि स्विकृति गरी कार्यान्वयनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । धनाढ्यले सुविधा पाउने र विपन्न त्यसबाट बन्चित हुने अबस्था आउन नदिन सो नगरपालिकाले छनोट प्रक्रियालाई कडाई समेत गरेको थियो । वडाले छनोट गरी पठाएको नाम मेयर संयोजक रहेको निर्देशन समितिले छानविन गर्ने र सो समितिले छनोट गरेको परिवारको विषयमा नगरबासीले दावी विरोध पेश गर्ने गरी सुचना समेत प्रकाशन गरेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।
मेयर रेग्मीले नगरबासी लभग्राहीलाई स्वास्थ्य वीमा कार्ड हस्तान्तरण गरी स्वास्थ्य विमा कार्यक्रमको उद्घाटन गरेका हुन । सो अबसरमा उनले आर्थिक अभावका कारण उपचार गर्न चन्दा उठाउनुपर्ने बाध्यकारी अबस्थाको अन्त्य गर्न विपन्न परिवारको निःशुल्क बिमा गरिएको बताए । अब आर्थिक अभावका कारण उपचार नपाएर कोही पनि मर्नु पर्दैन मेयर रेग्मीले भने पैसा नहुनेको उपचारको जिम्मा स्थानीय सरकारले लिएको छ ।
मेयर रेग्मीले प्रदेश सरकारले चेपाङ समुदायका घरधुरीको स्वास्थ्य बिमा गर्ने घोषणा गरेकाले अहिले सो समुदायलाई समाबेश नगरिएको भन्दै प्रदेश सरकारले नगरे स्थानीय सरकारले उनीहरुको समेत निःशुल्क स्वास्थ्य बिमा गर्ने बताए । वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले स्वास्थ्य वीमा कार्यक्रमको महत्वका बारेमा बोलेका थिए ।






–00–


