चितवन, २७ बैशाख। चितवनमा दूध जोन क्षेत्र निर्धारण गरिएको छ । भरतपुर महानगरका ८ वटा वडा र रत्ननगरका ११ वटावडा गरी १९ वडालाई दूध जोन क्षेत्र निर्धारण गरिएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय बागमती प्रदेशद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन क्षेत्र निर्धारण गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार दूध उत्पादन वृद्धि गर्नकै लागि जोन क्षेत्र निर्धारण गरिएको हो ।
उनले भरतपुरको वडा नं–१३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन क्षेत्र निर्धारण गरिएको बताए । उनले भने, ‘‘कार्यविधिअनुसार दैनिक ३० हजार लिटर दूध उत्पादन गर्ने क्षेत्रलाई दूध जोन क्षेत्रमा समेट्न सकिन्छ, हाम्रो अध्ययनले भरतपुरका यी आठ वडालाई समेट्दा दैनिक ३० हजार लिटरभन्दा बढी दूध उत्पादन भएको पाइयो ।’ भरतपुरको १४ लाई ‘मिड पोइन्ट’ मानेर वरिपरिका आठवटालाई समेट्दा दैनिक ३२ हजार लिटर दूध उत्पादन भएको तथ्याङ्क आएपछि सोही वडाहरुलाई दूध जोन क्षेत्र तोकिएको विज्ञ केन्द्रको भनाइ छ ।–00–
चितवनपोष्ट-


