राष्ट्रिय झण्डा ओढाएर नेम्वाङलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् श्रद्धाञ्जली

काठमाडौं, २६ भदौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको नेम्वाङको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएकी हुन्। नेम्वाङलाई श्रद्धाञ्जली दिने क्रममा पूर्वराष्ट्रपति भण्डारी निकै भावविह्वल बनेकी थिइन्। हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मंगलबार राति १ स् ३० बजे निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिएको हो।

नेम्वाङप्रति श्रद्धाञ्जली दिन एमालेका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू पार्टी कार्यालय पुगेका छन्। पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,पूर्वसभामुख विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरू युवराज ज्ञवाली,रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य,सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा,उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यसैगरी नेम्वाङलाई नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल,उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन्।

एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका छन्। नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने जनाइएको छ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु