✍️ सेतो नेपाल संवाददाता
चितवन २४ जेठ । गोरखा जिल्लाबाट बसाइँसराइ गरी रत्ननगर नगरपालिकामा बसोबास गर्दै आएका गोरखालीहरूको तेस्रो भेला शनिबार रत्ननगरमा सम्पन्न भएको छ। गोरखा रत्ननगर सम्पर्क समाजको आयोजनामा सम्पन्न भेलाले सामाजिक एकता र सेवामूलक कार्यमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सांसद कृष्ण खनालले गोरखाको ऐतिहासिक गौरव स्मरण गर्दै भने, “नेपाल एकीकरणको सुरुवात गोरखाबाटै भएको हो, हामीले त्यही गौरव बोकेर समाजमा सकारात्मक भूमिका खेल्नुपर्छ।” उनले संगठित भएर अघि बढ्दा ठूलो उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।
वडा नं. १० का वडाध्यक्ष कलाधर पौडेलले संस्थामा आवद्ध हुनुले आफन्तहरू चिनिने र एकताको भावना बलियो हुने भन्दै वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिवद्धता जनाए।
समाजका अध्यक्ष बेदप्रसाद पाण्डेले तेस्रो भेलासँगै समाजको पहिलो अधिवेशनको तयारी भइरहेको जानकारी दिँदै भने, “यो संस्था वडा नम्बर १० बाट सुरु भए पनि छिट्टै रत्ननगरका १६ वटै वडामा सदस्यता विस्तार गरिनेछ। सामाजिक हितका विभिन्न कार्यक्रम सञ्चालन गर्दै समुदायमा सक्रिय भूमिका खेल्नेछौं।”
भेलामा उपाध्यक्ष एकराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष कपिल घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। सह-सचिव कविता भट्ट ढकालले संस्था गठनको प्रेरणादायी अनुभव सुनाइन्। सदस्य रामकृष्ण लम्सालले गोरखाबाट रत्ननगरमा बसोबास गर्दै आएका सबैलाई संस्थामा आवद्ध हुन आग्रह गरे।
कार्यक्रमको सञ्चालन समाजका सचिव सुर्यमणि ढकालले गरेका थिए।


