सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन् । उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।”

श्रेष्ठको उम्मेदवारी घोषणासँगै काठमाडौं महानगरको आगामी निर्वाचनलाई लिएर राजनीतिक चासो बढ्ने देखिएको छ । उनको घोषणालाई काठमाडौंको नेतृत्व र महानगरको विकास तथा सुशासनसँग जोडिएको नयाँ राजनीतिक कदमका रूपमा हेरिएको छ ।

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । उनले तत्कालीन सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । मन्त्रीका रूपमा रहँदा शिक्षा क्षेत्रको सुधार र नीतिगत विषयमा उनले विभिन्न बहस तथा पहल अघि बढाएकी थिइन् ।

अब महानगरको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेकी श्रेष्ठले आफ्नो अनुभव र विज्ञतालाई काठमाडौंको विकासमा कसरी उपयोग गर्नेछिन् भन्ने विषय चासोको विषय बनेको छ ।

Share:

सम्बन्धित समाचारहरु