काठमाडौं,२५ माघ । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विषवमन गरिरहेको बताइन् । राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ ।
उनले यी विषयले राजनीतिक दलहरू आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरिन् । “संसद्मा जात्रा सुन्दै छौँ । आज व्यवस्था र संविधान अनि बलिदानीमाथि विषवमन भइरहेको छ । यो पुनरुत्थानवाद हो । यो किन भयो भने राजनीतिक दलले सही ढंगले काम गरेनन् । त्यसले जनमत स्वीन गराएको हो । हामी आत्तिनु पर्दैन । तर, काम गरेर परिवर्तन दिनुपर्यो,” उनले भनिन् ।
उनले लोकतान्त्रिक संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । लोकतान्त्रिक प्रणालीभित्र संवादको विषयवस्तु बढिरहेको उनले बताइन् ।
नेत्री झाँक्रीले मुलुक बनाउनका लागि अब फरक एजेन्डा र निश्चित लक्ष्य हुनुपर्नेमा जोड दिइन् । “विद्यार्थी राजनीतिमा व्यवस्था परिवर्तन गर्दै अब देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा हामी पुगेका छौँ । हामीले कस्तो मुलुक बन्ने भन्ने लक्ष्य हुनुपर्छ । पञ्चायतमा पनि भिजन थियो । अब भिजन बनाएर त्यसको वरपर काम गर्ने हो नि,” उनले भनिन् ।–00–