सेतो नेपाल-
कालिका, ८ भदौं । कालिका नगरपालिकामा मोटामोटी कतिघर धुरी छन् ? कुन घर कस्ता छन ? नगरक्षेत्रका कति घरहरु मापदण्ड अनुसार बनेका छन ? यि सबैको तथ्यगत उत्तर नगरपालिकासँग छैन । नगरपालिका गठन भएपछि सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता २०७२ लागुभयो । कालिका नगरपालिकाले यसलाई कठाईका साथ कार्यान्वयन गर्न सकेन ।
नक्सापास बिना अझैपनि घर बन्ने क्रम जारी छ । यसैलाई मध्येनजर गर्दै नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थतगर्ने तयारी थालेको छ । कार्यपालिकाको आज बसेको बैठकले अर्को सातादेखि सबैखाले घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय भवन संहिता २०७२ लागुहुनुपूर्व र संहित २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो । नगरपालिका गठनहुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशीका समेत तयार पारेको छ ।
नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरणगर्ने गरि निर्देशीका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरणगर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो ।
मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शूल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनिले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो, र कुलोमा परेको परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादीत जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिनेछैन ।
शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ नगर प्रमुख रेग्मीले भन्नुभयो – जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ । यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरणहुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरणगर्न लागिएको नगर प्रमुख विनोद रेग्मीको भनाई छ ।
घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ । तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताउनुभयो । घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो –यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ ।
नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकाश तथा स्थानीय भू–उपयोग शाख प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका थिए ।
बैठकमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती थियो ।









