चितवन, १३ कार्तिक । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १३ ओटा सामुदायिक विद्यालयहरुमा अफलाईन ई- पुस्तकालय सञ्चालन गरिएको छ। पुस्तकालय सञ्चालनले विद्यालयमा सिकाईको विश्व व्यापी ढाँचा अनुरुप सबै बालबालिकाहरुलाई सिकाईमा सक्रिय सहभागी गराई सिकाई सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुस्तकालयमा विद्यालय तहका सबै कक्षाका सबै विषयका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगाएत अरु आवश्यक सन्दर्भ सामग्रीहरु उपलब्ध छन् । साथै विभिन्न विधाका दस हजार भन्दा बढि पुस्तकहरु ई- पुस्तकालयमा उपलब्ध रहेका छन् । सबै बालबालिकाको सिकाइलाई सहज बनाउन पाठ्यसामग्रीहरु अडियो, भिडियो र साङ्केतिक भाषामा समेत उपलब्ध रहेका छन् ।
समावेशी शिक्षा परियोजना र नगरपालिकाको सहकार्यमा परियोजनाले सघन सहयोग गरिरहेका भरतपुर महानगरपालिकाका ७ वटा विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय लेवरनगर, रातापुर अधारभूत विद्यालय,आधारभूत विद्यालय धनौजी, अन्नपुर्ण माध्यामिक विद्यालय पार्वतीपुर, माध्यामिक विद्यालय लंकु बाह्घरे, राय्ट्रिय माध्यामिक विद्यालय कृषणनपुर र आभारभूत विद्यालय भार्लाङ रहेका छन् । त्यसैगरि कालिका नगरपालिकाका ६ वटा विद्यालय, राष्ट्रिय मा वि मझवाङ्, चतुर्मुखी मा. वि., पृथ्वी मा.वि., भिमोदय नमुना मा. वि., राष्ट्रिय मा. वि. शमिपुर, जनहित मा.वि. रहेका छन् ।
विद्यालयमा अफलाईन ई-पुस्तकालय सञ्चालन र शिक्षण सिकाईका प्रविधिको प्रयोग सम्बन्धि शिक्षकहरुलाई ४ दिनको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरि विद्यालयहरुलाई ई- पु्स्तकालयको सर्भर र अरु आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । सो कार्यक्रमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, अधिकृत ऋषिराम शर्मा, कालिका नगरपालिका शिक्षा निर्देशक गंगाधर रिमालको सहभागिता रहेको थियो र प्रत्येक विद्यालयलाई करिब एक लाख लागत बराबरका सामग्री र सर्भर हस्तान्तरण गरिएको थियो ।
तालिमामा सहभागी अन्नपुर्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बटुकलाल तमाङका अनुसार विद्यालयहरुमा कम्युटर प्रयोगशालाहरु छन् तर त्यसमा बालबालिकाको सिकाईको लागि विषयपस्तु उपलब्ध नभएको र केवल कम्युटर सिक्नको लागि मात्र प्रयोग गर्ने गरिएको थियो अब हामिले बालबालिकाको सिकाईका सामग्रीहरु पाएका छौ यसले बालबालिकालाई मात्र नभई शिक्षकहरुलाई पनि सहज हुनेछ छ र विद्यालयमा भएका ICT ल्याबहरु पुर्णरुपमा पाठ्यक्रमले निर्धारण गरेका सिकाई उपलब्धि केन्द्रित सिकाईमा प्रयोग हुनेछन् ।
—00—