बाख्रापालनले फेरियो जीवनशैली, आर्थिक हिसाबले अब्बल बन्दै पदमपुरका किसानहरु

कालिका, १९ साउन । कालिका नगरपालिका वडा नं. ३ बस्ने कृष्णमाया प्रजा बाख्रा पालनमा व्यस्त छिन् । चारवर्ष अगाडी स्थानीय चेतनाचेली बहुउद्देश्यीय सहकारीवाट ५० हजार रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गरेकी थिइन । सहकारीवाट सुरुमा ३० हजार रुपैयाँ ऋण लिएर बाख्रा पाल्ने योजना बनाइन । उनले बनाएको योजना अनुसार बजेट पुगेन । पुनः२० हजार रुपैयाँ ऋण माग गरिन ।

उनले माग गरेबमोजिम सहकारीले थप २० हजार रुपैयाँ ऋण दियो । सहकारीबाट लिएको पैसाले ६ वटा माउँ बाख्रा किनिन् । बाख्रापाल्न थालेको वर्षदिन नपुग्दै बाख्रा ब्याएर १५ वटा पुग्यो । अहिले यिनको खोरमा १ वटा खसी र ५ वटा बोकापाठी सहित गरेर २३ वटा बाख्रा छन् । यो बीचमा यिनले राम्रो आम्दानी गर्न सफल भइन् । केही महिना अघिमात्रै कृष्णमायाले एकैचोटी १० वटा खसीबोका विक्री गरेकी थिइन । एउटा खसीबोका न्यूनतम २० हजारदेखि माथिको मूल्यमा विक्री हुन्छ उनले भनिन – दशवटा खसी बेच्दा २ लाखबढी आम्दानी भयो ।

कृष्णमाया प्रजाले पालेको खसीबाख्रा
कृष्णमाया प्रजाले पालेको खसीबाख्रा

त्यो बाहेक पाठी र माउँबाख्राहरुपनि बेला बेला विक्री हुन्छ । कृष्णमायाको अनुभवले खसीबोकाको तुलनामा पाठी र माउँबाख्रा कम मूल्यमा विक्री भएपनि यसले खर्च धान्न पुग्छ । कृष्णमायाको श्रीमान रोजगारीको शिलसिलामा कुवेतमा छन् । घरमा तीन छोराछोरी सहित ६ जनाको परिवार छ । बाख्रापालन सुरुगरेयता कृष्णमायालाई घरखर्चदेखि बाबुनानीहरुलाई पढाउन कसैसँग हात फैलाउन परेको छैन ।
सुरु सुरुमा बाख्रापालनगर्दा कठिनाई र समस्या आउँला जस्तो लागेको थियो । सहकारीले बाख्रापालन सम्बन्धी तालिम दियो । दक्ष प्राविधिक बोलाएर खोर व्यवस्थापन, खानपिन, दानाचोकर लगायत पशुहरुमा लाग्ने रोग र त्यसको उपचारको विषयमा तालिम दिएपछि कृष्णमायालाई थप हौसला मिल्यो ।

 

कृष्णमाया प्रजा
कृष्णमाया प्रजा

अहिले बाख्रापालनमै रमाएकी छिन् । घर नजिकै सात कठ्ठा जग्गा भाडामा लिएर घाँसखेती गर्दै आएकी छिन् । जग्गाको डिलडिलमा घाँस लगाएकीछिन भने बाँकी बाँझो जग्गामा बाँख्रा चराउन लैजाने गरेकी छिन् । त्यतिबेला आँट गरेर ऋण लिएर बाख्रापाल्न थालें उनले भनिन अहिले मलाई धेरै सजिलो भएको छ । बाख्रा चराउन र यिनीहरुको हेरचाहमै रमाइरहेकी छु – उनले थपिन । उसो त गाउँका अन्य महिलाहरु झै दिनभर मोबाइलहेर्ने, टिकटक बनाउने उनलाई फुर्सद छैन । घरको कामधन्दा सकेर बाबुनानीहरुको हेरचाह र खसीबाख्राहरुसँगै दिन वित्छ ।

तर यिनी अहिले निकै खुशी छिन् । घरमा आवश्यक सानातिना खर्च चलाउन श्रीमानकै भरपर्नुपरेको छैन । घर खर्चसँगै बाबुनानीहरुलाई स्कुल बढाउन आफै सक्ने भएकीछिन् । यिनले आफु सुरक्षित हुन आफ्ना खोरमा भएका बाख्राको वीमा गरेकी छिन् । पशु वीमाका कारण कुनै कारणले पालेको पशु मरिहाल्यो भनेपनि क्षतिपूर्ती पाउने भएपछि यिनी ढुक्क छिन् ।

 

यिनी जस्तै कालिका वडा नं. ३ नवकिरण टोलकी बममाया घलानपनि बाख्रापालनमा रमाइरहेकी छिन् । एकदुईवटा बाख्रा पहिलादेखिनै पाल्दै आएपनि व्यवसायिक रुपमै बाख्रापालन थालेको केहीवर्षमात्रै भयो । चेतना चेली सहकारीले पशुपालन सम्बन्धी आयोजना गरेको तालिममा सहभागी भएपछि उनलाई व्यवस्थ्ति बाख्रापालनगर्ने इच्छा जाग्यो ।

घरमा भएका एकदुईवटाबाख्रालाई विस्तारगर्ने योजना बनाए । आफुले तालिम लिएकै सहकारीवाट बाख्रापाल्नका लागि ऋण माग गरिन । घलान परिवारले सहकारीवाट ऋण लिएर बाख्राको माउँ थपे । अहिले घलानको खोरमा ६ वटा माउँ सहित साना ठूलागरी २० वटा बाख्रापुगेको छ । अस्ति एउटा खसी विक्री भयो – उनले भनिन । यो संख्या अझै बढाउने योजना सुनाईन ।

श्रीमान घर बनाउने मिस्त्रीको कामगर्छन । समय मिले सम्म दुवैजना बाख्राको स्हारसुसारगर्न जुट्छन् । बाख्राले घलान परिवारलाई व्यस्त बनाएको छ । घाँस काट्ने दाना चोकर लगाउने, समय मिले सम्म चराउन लैजानेगरी दिनहरु वित्ने गरेको छ । परिश्रमसँगै बाख्रापालनले यिनीहरुको दैनिकी फेरिएको छ । आर्थिक हिसावले अब्बल बन्दै गइरहेका छन् । श्रीमान श्रीमति दुवैजना कमाउने भएका छन् ।

बममाया घलान
बममाया घलान

यस्तै कालिका वडा नं. २ बलराम टोलका हेमबहादुर पाख्रिनपनि बाख्रापालनमा मस्त रमाइरहेका छन् । खेतिकिसानीगर्न चाहिने मलका लागि बाख्रापालन थालेका थिए । अहिले मलसँगै बाख्रापालनवाट राम्रो मुनाफा लिइरहेका छन् । यिनको खोरमा साना ठूला गरेर १५ वटा बाख्राछन् । सानोखालको खरी जातको बाख्राबाट सुरु गरेका हुन । खरी जातकै बाख्रालाई ठूलो उन्नत जातको बोका क्रम गराएर खच्चड बोकापाठीहरु यिनको खोरमा छन् ।

बाख्रापालनवाट जीवन धान्न सहज भएको पाख्रिनले बताए । वर्षदिनमै खसीबोका विक्रीगर्न योग्यहुने हुँदा थोरै लगानीमा राम्रो आम्दानीहुने माध्यम बनेको छ । पशुपालनमा यिनीहरुको लगाव देखेर सहकारीले पैचो कार्यक्रम अन्तर्गत दुईवटा पाठी दिएको छ । हेमबहादुरकी धर्मपत्नी पनि सहकारीको शेयर सदस्य बनेकी छिन् । आफ्ना शेयर सदस्यहरुको आर्थिक अवस्था बलियो बनाउन सहकारीले पैचो कार्यक्रम अन्तर्गत पाठी दिएको हो । पाठापाठी जन्मियो भने एउटा पाठी पैचो फिर्ता स्वरुप सहकारीलाई फिर्ता दिनुपर्ने छ । त्यो पाठी फेरि पनि सहकारीले अर्का एकजना शेयर सदस्यलाई पैचो दिनेछ ।

सहकारीमा शेयर सदस्य भएपछि आफुहरुलाई निकै राम्रो भएको हेमबहादुर पाख्रिनले सुनाए । मासिक बचतसँगै आम्दानीका लागि नयाँ बाटो खुलेको छ ।

 

कालिका नगरपालिकाको वडा नं. २ पदमपुरमा मुख्य कार्यालय रहेको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न खालका सीप मूलक तालिम समेत दिँदै आएको छ । संस्थाका व्यवस्थापक निरु तामाङका अनुसार व्यवसायीक तरकारीखेती देखि च्याउँखेती, लगायत आयमुलक कार्यक्रमलाई सहकारीलाई प्राथमिकता दिँदै आएको छ । पशुपालनसँगै,माछापोखरी, तरकारीखेती, गलैचा उद्योग लगायतका क्षेत्रमा सहकारीले लगानी गरेको छ । सहकारीमा ६ सयबढी शेयर सदस्यहरु छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु