चितवन, ६ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान युवतीमाथि गोली प्रहार भएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएकी युवतीलाई थप उपचारका लागि चितवन पठाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई बुद्धनगरमा खाजा घर सञ्चालन गर्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि सितारे आलम भन्ने युवकले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै गोली प्रहार गरेका हुन् ।
घटनापछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । तर कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि चितवन पठाउने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानमा आरोपित युवक भारतीय नागरिक भएको अनुमान गरिएको छ । पीडित युवतीको भनाइ अनुसार युवतीले विवाहको प्रस्ताव अस्वीकार गरेपछि आरोपित युवकले भिडियो कलमार्फत धम्की दिने, डर देखाउने र ‘जे पनि गर्न सक्छु’ भन्दै त्रास देखाउने गरेको खुल्न आएको डिएसपी रानाले बताए ।
‘प्रेम प्रस्ताव नस्वीकार गर्दा गोली प्रहार गरिएको प्रारम्भिक अनुमान गरिएको छ,’ डिएसपी रानाले भने, ‘भिडियो कलमार्फत धम्की दिएको स्क्रिनसट पनि पीडितबाट हामीले प्राप्त गरेका छौं ।’
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।–00–

