बाँदरेमोडको सडक खुले पनि तुइनखोलामा अझै अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मुग्लिन

 पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकैको बाँदरेमोडमा खसेको पहिरो पन्छाएपछि अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएको छ । हिजो बेलुकी पौने ९ बजे पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भए पनि रातभरको प्रयासपछि बिहानैदेखि सडक खुलेको धादिङ प्रहरीले जनाएको छ । अहिले दुईतर्फी सवारी सञ्चालनमा भए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै, धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । त्यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा मंगलबारदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । ठूलो र बारम्बार खसिरहेको पहिरो पन्छाउने प्रयास भए पनि सडक सुचारु गर्न समय लाग्ने चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यात्रुलाई असुविधा न्यूनिकरण गर्न वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

  • चितवन–काठमाडौं आवागमन: साना गाडीका लागि जुटपानी–शक्तिखोर–मायाटार हुँदै मलेखु पुग्ने बाटो, ठूलो गाडीका लागि त्रिभुवन राजपथ वा कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ ।

  • चितवन–पोखरा आवागमन: ठूला तथा साना गाडी दुवै बुटवल हुँदै पोखरा जान सक्नेछन् । साथै, साना गाडीले गैंडाकोट–भिमाद हुँदै कालीगण्डकी करिडोर प्रयोग गर्न सक्नेछन् ।

तर यी वैकल्पिक सडक साँघुरा र कतिपय स्थानमा कच्ची भएकाले धेरै सवारीसाधन गुड्दा जाम हुने समस्या देखिने गरेको छ ।

Share:

सम्बन्धित समाचारहरु