जनकपुरधाम,१३ साउन । बेरोजगारी र लागूऔषध दुर्व्यसनी समस्याका कारण धनुषामा चोरीको घटना दिनानुदिन बढ्दै भयावह बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९र८० मा ५ सय ८७ वटा चोरको घटना भएको छ । चोरीका यी अधिकांश घटनामा १६–३८ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्यांक अनुसार चोरी घटनामा संलग्न रहेको आरोपमा ६ सय २६ जना पक्राउ परेका मध्ये पिडित पक्षले उजुरी नदिँदा मात्र १ सय १३ वटा चोरी घटनाको मुद्दा दर्ता भएको छ भने बाँकी ४ सय ७४ वटामा अभद्र व्यवहार मुद्दा गरिएको छ ।
चोरी घटना नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालनसहित अभियान नै संचालन गरिएको छ । सो अभियानको क्रममा तिनीहरुलाई नियन्त्रणमा धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
जिप्रकाले चोरी घटनाको दर्ता १ सय १३ मुद्दामा १ सय ७ वटा फर्छौट भएको छ भने १ सय १७ अभियुक्त मध्ये १ सय ५ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । यस्तै चोरी घटनाको अभद्र व्यवहार दर्ता मुद्दा मध्ये ४ सय ३९ वटा फर्छौट भएको छ भने ५ सय ४९ अभियुक्त मध्ये ५ सय २१ जनालाई पक्राउ गरी कानूनी दायरमा ल्याइएको छ ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आ।व। ०७९र८० मा चोरीको घटना ह्वातै बढेको छ । चोरी र अभद्र व्यवहार मुद्दा दर्ता सहितको चोरी घटना ५ सय ८७ रहेको छ भने आ।व। ०७८र७९ मा चोरीको ११८ र अभद्र व्यवहारको १३३ गरी २५१ वटा र आ।व। ०७७र७८ मा चोरीको ८१ र अभद्र व्यवहारको १५९ गरी २४० वटा चोरीको घटना भएको हो ।
जिप्रका प्रमुख एसपी विश्वराज खड्काले गत आर्थिक वर्षमा चोरीका घटनामा पक्राउ परेकाहरु मध्ये ३८ वर्ष मुनिका नै रहेका छन । चोरी घटनामा संलग्नहरु अधिकांश लागू औषध दुर्व्यसनी र बेरोजगार रहेको बताए । केही युवा पेट पाल्न चोरी घटनामा संलग्न रहेको समेत देखिएको उनले बताए ।
युवाहरूको मानसिकता किन आपराधिक बन्दैछ भन्ने कुरा थप अनुसन्धानको विषय बन्न सक्छ तर लागूऔषधको लतमा फसेका, रोजगारी वा काम गर्ने अवसर नपाएका गरीबी पेट पाल्न र खुला सीमाको गलत फाइदा उठाउने मनोवृत्तिले समस्या बढ्दै गएको उनको भनाई छ ।’–00–

