चितवनका दुई चिकित्सकहरुको अनुसन्धानमूलक पुस्तक सार्वजनिक

चितवन, २५ असार । चितवनको भरतपुरमा रहेको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर अस्पतालका दुई हाडजोर्नी रोगका विशेषज्ञहरु डा. प्रमोद लामिछाने र डा. अनिल भट्टराईको पुस्तक ‘नेपालमा हाडजोर्नी रोगको उपचारमा भएका अभ्यासहरु’ (अर्थोपेडिक्स प्राक्टिस इन नेपाल) सार्वजनिक भएको छ ।

 

एलाइभ अस्पताल तथा ट्रमा सेन्टरको १२ औं वार्षिकोत्सवको अवसरमा आइतबार भरतपुरको ठिमुरा रिसोर्टमा विशेष कार्यक्रम गरी सो पुस्तक सार्वजनिक गरिएको हो ।

 

पुस्तकलाई लेखक स्वयं डा. लामिछाने, डा. भट्टराई, निजी अस्पताल समन्वय समिति चितवनका संयोजक डा. नारायणसिंह कुँवर, चितवन मेडिकल कलेजका हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. आनन्द रेग्मी, पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, डा लामिछानेका बुबा कृष्णप्रसाद लामिछाने, आमा कमला लामिछानेले संयुक्तरुपमा सार्वजनिक गरेका छन् ।
१३४ पृष्ठको पुस्तकमा नेपालमा हाडजोर्नी रोगको उपचारमा गरिएका अभ्यासहरु, देखिने समस्याहरु, उपचारमा गरिएको पछिल्लो प्रयासहरुबारे अनुसन्धानमूलक ढंगले प्रस्तुत गरिएको छ । भविष्यमा हाडजोर्नी उपचारमा संलग्न हुने चिकित्साका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरुको लागि पुस्तक निकै उपयोगी हुने आशा गरिएको छ ।

लेखकद्वय लामिछाने र भट्टराईले निकै मेहनत गरेर हाडजोर्नी तथा नशा रोगको विषयमा , जटिल र असजिला अप्रेशन कसरी गर्ने रु सिमित स्रोतसाधनबाट पनि कसरी अन्तर्राष्ट्रियस्तरको सेवा नेपाली बिरामीलाइ दिने ? डोल्पा जिल्ला जस्तो दुर्गम जिलामा पनि सिमित स्रोतसाधन, र भौगोलिक कठिनाइका बीच पनि कसरी काठमाडाँको जस्तो सेवा दिने भन्ने कुरा पुस्तकमा उल्लेख छ ।

डा लामिछाने र भट्टराईको १२ वर्षको लामो अनुभव र धेरै बिरामीको रेकर्ड सहितका उपचार पद्धति पुस्तकमा उल्लेख छ । असजिलो अवस्थामा कसरी अप्रेशन सफल गराउने, उपचारको बीचमा दुविधा भएमा कसरी अगाडि बढ्ने , अप्रेशनको बीचमा एक्कासी समस्या आएमा बिरामीलाई क्षति नपुग्ने गरी कसरी सफलतासहित अप्रेशन सक्ने जस्ता धेरै बिधिहरु पुस्तकमा फोटोसहित प्रस्तुत गरिएको छ ।

एलाइभ अस्पतालको १२ औं वार्षिकोत्सवको अवसरमा अस्पतालका विभिन्न पदमा रहेर योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अस्पतालकी कर्मचारी बिमला देउजा, नर्स सरिता गुरुङ, अडिटर माधवप्रसाद वास्तोला, हाडजोर्नीसम्बन्धी सर्जन तथा पुस्तकका लेखक डा भट्टराई, एनेथेसोलोजिस्ट डा दिपकराज तिवारी रहेका छन् । पत्रकार विनोदबाबु रिजालले संयोजन गरेको कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा कार्यरत कर्मचारीहरुले नृत्य र क्यारिकेचर प्रस्तुत गरेका थिए ।

 

लमजुङको राइनास नगरपालिका माझीगाउँमा जन्मिएका डा प्रमोद लामिछाने मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि ३० वर्षकै उमेरमा चितवनमा अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा। लामिछानेले भरतपुरमा २०६८ सालमा एलाइभ अस्पताल सुरु गरेरै छोडे । लामिछाने भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौँ विश्वविद्यालयबाट अर्थोपेडिकमा एमडी गरेका हुन् । उनले विशेष छात्रवृत्तिमा नेदरल्याण्डबाट व्यवसायिक अध्ययन पनि पूरा गरेका छन् ।

अर्का गैँडाकोटका लेखक डा भट्टराईलेले काठमाडौँको टिचिङ अस्पतालबाट अर्थोपेडिक सर्जरीमा स्नात्तकोत्तर गरेका हुन् । उनी बिगत ६ वर्षदेखि हाडजोर्नीसम्बन्धी शल्यक्रियामा अनुभव बनाएका छन् । लेखकद्वय लामिछाने र भट्टराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हाडजोर्नी रोग र उपचारबारेमा कार्यपत्रहरु प्रस्तुत गर्दै आइरहेका छन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु