काठमाडौं, २८ वैशाख । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने छन्।
प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको थियो।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका जिज्ञासाहरूमा जवाफ दिनेछन्। साथै, नीति तथा कार्यक्रममाथि दर्ता गरिएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय भएको छ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गर्न प्रस्ताव पेश गर्नेछन्।
राष्ट्रियसभामा पनि यही कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने र त्यसपछि संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।


