सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने युवकलाई १८ वर्ष कैद

सप्तरी, २८ बैशाख । सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतले १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।

राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुमार खंगलाई जिल्ला अदालत सप्तरीका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बुधबार १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।

खंगले ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने र पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत अदालतले गरेको छ।

२०७९ मंसिर १ गते राति खंगले गाउँकै १३ वर्षीया बालिकलाई जबर्जस्ती करणी गरेका थिए। छोरी बलात्कारमा परेको भन्दै पीडितका बुबाले त्यतिबेलै जिल्ला प्रहरी कार्यालयमा युवकविरुद्ध उजुरी दिएका थिए।

ती युवकले बालिकालाई ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा पुर्याएर बलात्कार गरेर फरार भएका थिए। गएको मंसिर २० गते खंग पक्राउ परेका थिए। –00–

Share:

सम्बन्धित समाचारहरु