इच्छाकामना गाउँपालिकाले तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स संचालनगर्ने

भरतपुर । कृषि क्षेत्रका समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। यसका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ। पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए।

उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो। ‘किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौं,’ उनले भने। अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पु¥याउनुपर्ने बाध्यता छ।

तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए। उनका अनुसार संघीय सरकारले ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ। ‘संघीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो,’ उनले भने।

गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख खर्च लाग्ने अनुमान गरेको छ। ‘विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वर्ल्याङ र वडा नं ७ को दाहाखानी लगायतका क्षेत्र लक्षित गरी साधन खरिद गर्न लागेको हो,’ अध्यक्ष गुरूङले भने। कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ।

‘पालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालनको तयारीमा छौँ,’ उनले भने , ‘बजेटको व्यवस्थापनका लागि पटक–पटक संघीय सरकार धाउनुपर्‍यो।’ इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ। यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुंगोलगायतका तरकारी उत्पादन हुने गरेको छ। गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ।

यसअघि लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कृषि एम्बुलेन्स सुरु गरेको थियो। लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कृषि एम्बुलेन्स सुरु भएको हो।

कृषकले उत्पादन गरेका तरकारी त्यत्तिकै खेर जाने अवस्था आएपछि कृषि मन्त्रालयको सहयोगमा सहकारीले सुपथ मूल्यमा उपभोक्तारुलाई तरकारी बिक्री गर्न थालेको हो। किसानले तोकेको मूल्यमा सहकारीले टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधनलगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन्।

यसअघि रुपन्देहीको देवदह र तानसेनमा पनि कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ। गाउँ र सहर जोड्ने साधन र गाउँका उत्पादनको स्वाद सहरलाई चखाउने भरपर्दो माध्यम कृषि एम्बुलेन्स बन्न सक्ने अपेक्षा गरिएको छ। कृषि र पशुजन्य उत्पादन र ती उत्पादनका लागि आवश्यक सामग्री ढुवानी गर्ने साधनलाई कृषि एम्बुलेन्सका रूपमा परिभाषित गरी प्रदेश र स्थानीय तहको साझेदारीमा देशैभर सञ्चालन गर्न सकिन्छ।

कृषि एम्बुलेन्स सञ्चालन हुँदा सहरका नागरिकले ताजा र सस्तो कृषि तथा पशुजन्य उत्पादन उपभोग गर्न पाउनेछन् भने गाउँका नागरिकले आफ्नो उत्पादनको सहज बजार पाउनेछन्। उपभोक्ताको आवश्यकता र चाहनाअनुसारका उत्पादन प्रदेशका संरचनामार्फत बिक्री वितरण गराउन सक्छन्। ती संयन्त्रले डिमार्टमेन्टल स्टोर, ठूला होटल तथा पसलमा कृषि तथा पशुजन्य उत्पादन पुर्‍याउन सक्छन्। यसबाट ती सामग्री उपभोक्तासमक्ष पुग्छ।

कृषि एम्बुलेन्सले गाउँमा रोजगारीका अवसर उपलब्ध गराउन थाल्नेछ अनि रोजगारीको खोजीमा सहर र विदेशमा भौंतारिएको जनशक्तिलाई गाउँमा गएर उद्यमी बन्न प्रोत्साहित गर्नेछ। आफूले उत्पादन गरेका सामग्री आफ्नै खेतबारी र घरगोठबाट बिक्री गर्न सकिने भएपछि गाउँमा रहेको जनशक्ति कृषि र पशुपालनमा लाग्न प्रोत्साहित हुन्छ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु