चितवन, ९ बैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतवार हुने उपनिर्वाचनको तयारी पुरा भएको छ ।
मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले मतदानस्थल निर्माण, ४ किल्ला तोक्ने र राजनीतिक दलहरूसँग छलफल गर्ने लगायतका काम सम्पन्न गरिसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका १ सय ३८ केन्द्रमा ६ सय ९० जना कर्मचारी खटिएका हुन् । उनीहरूसँगै सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवम् भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षाका लागि यो व्यवस्था गरिएको हो ।-00–


