एनपीएल : फाइनल प्रवेशका लागि आज चितवन राइनोज र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने दोस्रो क्वालिफायर खेल दुवै टोलीका लागि फाइनल पुग्ने अन्तिम अवसर हो । आजको खेल जित्ने टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै लुम्बिनीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

यता चितवन राइनोजले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । बुधबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको चितवनले काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाएको थियो ।

आजको खेलमा चितवन राइनोज इलिमिनेटरमा देखाएको लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम भने जित निकाल्दै उपाधि प्रतिस्पर्धामा फर्किन चाहन्छ ।

दुवै टोलीका लागि प्रतिष्ठाको विषय बनेको यस खेलमा जित हासिल गर्ने टोलीले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Share:

सम्बन्धित समाचारहरु