काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोसी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई बैंकको किस्ता तिर्ने समय थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार योग्य ऋणीले २०८३ पुस मसान्तसम्म किस्ता भुक्तानी गर्न सक्नेछन्।
राष्ट्र बैंकले बाढीका कारण व्यवसाय, आम्दानी तथा नगद प्रवाहमा असर परेका ऋणीलाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार भोटेकोसी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणी यस सुविधाको दायरामा पर्नेछन्। त्यस्तै, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात–निर्यातमा आधारित व्यवसायीले पनि सर्त पूरा गरेमा सुविधा पाउनेछन्।
बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणीको हकमा पनि बैंक तथा वित्तीय संस्थाले उनीहरूको वित्तीय अवस्था, बिक्री तथा आम्दानी, नगद प्रवाह, मौज्दात रकम, आयात–निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार विश्लेषणबाट किस्ता भुक्तानीमा कठिनाइ भएको देखिएमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको किस्ता तिर्ने समय २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्।
यस व्यवस्थाले बाढीका कारण आर्थिक गतिविधि प्रभावित भएका व्यवसायी तथा ऋणीलाई तत्कालको वित्तीय दबाब कम गर्न र व्यवसायलाई पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, किस्ता भुक्तानीको समय थप हुने सुविधा सम्बन्धित ऋणीको अवस्था विश्लेषण र राष्ट्र बैंकले तोकेका सर्तका आधारमा लागू हुनेछ।


