त्रिशूली बाढी : नुवाकोटमा ५१ जनाको मृत्यु, ४०५ अझै बेपत्ता

काठमाडौं,  १३ भदौ — त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट जिल्लामा मानवीय तथा भौतिक क्षति भयावह बनेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्मको विवरणअनुसार बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना अझै बेपत्ता रहेका छन्।

प्रशासनले प्राप्त गरेको जानकारीअनुसार मृत्यु भएका ५१ जनाको शव फेला परे पनि हालसम्म उनीहरूको पहिचान खुल्न सकेको छैन। बाढीका कारण ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट प्राप्त सूचनाका आधारमा अद्यावधिक गरिएको प्रशासनले जनाएको छ।

बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका तथा किस्पाङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। विदुरका वडा नं. १, २, ४, ५, ७, १० र १२, बेलकोटगढीका वडा नं. ५, ७, ८ र ९ तथा किस्पाङ–५ को शान्तिबजार क्षेत्र उच्च प्रभावित क्षेत्रका रूपमा चिनिएका छन्।

प्रारम्भिक अनुमानअनुसार बाढीले जिल्लाका ७०० देखि ८०० वटा निजी घरमा क्षति पुर्‍याएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

बाढीले सरकारी तथा सार्वजनिक संरचनामा समेत व्यापक असर पुर्‍याएको छ। आठ सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ भने कृषि विकास बैंकको भवनसमेत प्रभावित भएको छ। तीन जलविद्युत् आयोजना र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। प्रभावित विद्यालयमध्ये एक सरकारी र तीन निजी विद्यालय रहेका छन्।

सडक तथा पुल संरचनामा पनि ठूलो क्षति पुगेको छ। हालसम्म १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले राहत तथा उद्धार सामग्री ढुवानीमा थप चुनौती सिर्जना गरेको छ।

केन्द्रीय कारागार नुवाकोटको संरचनामा समेत बाढीको असर परेको छ। कारागारका खम्बा र कम्पाउण्ड पर्खाल बगाएको, केही भाग पुरिएको तथा कार्यालय भवनको भुइँतल्ला डुबानमा परेको प्रशासनले जनाएको छ। यद्यपि, कारागारमा रहेका सबै कैदीबन्दी सुरक्षित रहेको स्पष्ट पारिएको छ।

उद्धार कार्यलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ। हालसम्म हेलिकोप्टरमार्फत १ हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित तथा विस्थापित नागरिकका लागि जिल्लाका विभिन्न स्थानमा अस्थायी आश्रयस्थल स्थापना गरिएको छ। हालसम्म ७९१ जनालाई ती आश्रयस्थलमा राखिएको छ। कतिपय प्रभावित नागरिक आफन्तकहाँ बसिरहेको र आवश्यकता अनुसार उनीहरूलाई पनि आश्रयस्थलमा व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै खोज, उद्धार, उपचार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, नेपाल रेडक्रस, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणसँग सहयोग र समन्वयका लागि अपिल गरेको छ।

Share:

सम्बन्धित समाचारहरु