चितवन, २१ असार – चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिला र एक बालकको मृत्यु भएपछि सरोकारवाला निकायबीच मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा चारबुँदे सहमति भएको छ।
गएराति भएको घटनापछि चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय समुदाय, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ नं. वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, नेपाल प्रहरी ईलाका कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिका प्रतिनिधिहरूको संयुक्त बैठक बसेको थियो।
बैठकले जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। साथै, मृतकका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत तत्काल उचित राहत उपलब्ध गराउने सहमति भएको जनाइएको छ।
त्यसैगरी, मृतक परिवारको घर निर्माण गरिदिने व्यवस्था मिलाउने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यहरू तत्काल सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
स्थानीयवासीले पछिल्लो समय बस्ती क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै जाँदा जनधनको क्षति हुने जोखिम बढेको भन्दै दीर्घकालीन समाधानको माग गर्दै आएका छन्। सरोकारवाला निकायहरूले घटनालाई गम्भीर रूपमा लिँदै प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा तथा नियन्त्रणका उपायहरू अघि बढाइने बताएका छन्।
जंगली हात्तीको आक्रमणबाट भएको मानवीय क्षतिप्रति बैठकले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।


