चितवन । रसुवामा आएको विनाशकारी बाढीले बगाएर नारायणी र त्रिशूली नदी किनारमा फेला परेका शवहरूको पहिचान गर्न निकै कठिन भएको छ। शुक्रबार दिनभर बेपत्ता व्यक्तिका परिवार र आफन्तहरू भरतपुरमा शव खोज्दै हिँडे पनि हालसम्म दुई जनाको मात्रै सनाखत भएको छ।
पहिचान हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरी र नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का रामकाजी पौडेल रहेका छन्।
भरतपुर अस्पतालको शवगृह तथा औद्योगिक प्रदर्शनी केन्द्रमा स्थापना गरिएको अस्थायी शव संकलन केन्द्र शवहरूले भरिएका छन्। तर अधिकांश शवको अवस्था बिग्रिएकाले पहिचान गर्न समस्या भइरहेको छ। शव पहिचानका लागि औद्योगिक प्रदर्शनी केन्द्रमा टेलिभिजनमार्फत शवका तस्वीर प्रदर्शन गरिएको छ। बेपत्ता व्यक्तिका आफन्तहरू दिनभर ती तस्वीर नियालेर आफ्ना परिवारका सदस्यको खोजीमा बसेका थिए।
यो समाचार तयार पार्दासम्म दुई जनाको मात्र सनाखत भएको छ।
अस्पतालको शवगृह र संकलन केन्द्रमा राखिएका शवहरूबाट दुर्गन्ध फैलिन थालेको छ। देशका विभिन्न जिल्लाबाट बेपत्ता आफन्तको खोजीमा आएका परिवारजन भरतपुर पुगेका छन्। संकलित शवमध्ये ५५ वटा शव यति क्षतविक्षत अवस्थामा छन् कि महिला वा पुरुष भनेर समेत छुट्याउन कठिन भएको प्रशासनले जनाएको छ।
यसैबीच, बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ शुक्रबार भरतपुर पुगेर बेपत्ता नागरिकका आफन्तसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्।
बेपत्ता व्यक्तिको खोजीमा चितवन आएका परिवार र आफन्तका लागि होटल संघ चितवनले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ। यद्यपि, शव पहिचान भइसकेपछि घरसम्म लैजाने प्रक्रिया, आवश्यक कागजात तथा आर्थिक व्यवस्थाबारे स्पष्ट जानकारी नपाउँदा धेरै परिवार अन्योलमा परेका छन्।
कोहलपुरबाट बेपत्ता भाइको खोजीमा भरतपुर आएका सुग्रीव थारुले पर्याप्त सूचना र सहजीकरण नपाउँदा समस्या भोग्नुपरेको गुनासो गरे। उनका अनुसार शवको पहिचान र कानुनी प्रक्रिया पूरा भए पनि आर्थिक अभावका कारण शव घरसम्म लैजान कठिन भएको छ।
यसैबीच, आर्थिक अभावका कारण शव लैजान नसकेका बाँकेका चौधरी परिवारलाई सहयोग गरिएको छ। शुक्रबार सनाखत भएका कोहलपुर–११ का कबिरलाल चौधरीको शव घरसम्म पुर्याउन चितवन प्रशासनको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले कोहलपुरसम्म पुग्न आवश्यक ६५ लिटर इन्धन उपलब्ध गराउने भएको छ भने बाँकी खर्च एम्बुलेन्स चालक संघले व्यहोर्ने सहमति भएको छ।
यस व्यवस्थापछि चौधरीको शव परिवारले घर लैजान पाउने भएको छ।












